पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको छ: मेयर आचार्य

पाेखरा | पुस ९, २०८२

पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । 


पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए । उनले खेलकुदले देशलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गरेको उल्लेख गरे ।


राष्ट्रिय एकताको प्रतीकका रुपमा खेलकुद विकास भइरहेको भन्दै मेयर आचार्यले देश विभिन्न मुद्दामा विभाजित हुँदा पनि खेलकुदको माध्यमबाट एकजुट र एकताबद्ध बन्ने गरेको स्मरण गरे ।  


उनले ग्रासरुटबाट खेलाडी उत्पादनको गर्नको लागि महानगरले ध्यान दिएको दावी गरे । त्यसको मुख्य थलो विद्यालय भएकोले यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उनको भनाइ थियो । यहीँबाट उत्पादन भएका विद्यार्थी जिल्ला, प्रदेश, राष्ट्रियस्तर हुँदै अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुग्ने बताउँदै त्यसैको आधार तयार गर्न  यो प्रतियोगिता आयोजना गरिएको प्रष्ट पारे ।


पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो महानगरका रुपमा रहेको पर्यटनको राजधानी सहर पोखरालाई खेलकुदको सहरको रुपमा स्थापित गर्नुपर्छ भन्ने उद्देश्यसहित पोखरा महानगरले काम गरिरहेको बताइन् । 


विद्यालय तहका बालबालिकाहरूको सर्वाङ्गीण विकासमा खेलकुदको भूमिका महत्वपूर्ण हुने भएकाले खेलकुदलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् ।


पोखरा महानगर  शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले व्यक्तिगत स्वास्थ्यमात्र नभई समाजलाई नैतिकवान्, मूल्यवान, सशक्त र एकताबद्ध बनाउन  खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई अनुशासित बनेर खेल्न आग्रह गरे ।  


पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गर्ने जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको उनको भनाइ छ । 


उद्‌घाटन समारोहमा नयाँ खेलाडीमा उत्साह थप्न नेपालका नम्बर वान टेनिस खेलाडी प्रदिप खड्का सहित राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र अञ्जना रानामगरको विशेष उपस्थिति रहेको थियो ।  बस्नेत र रानामगरसँग तस्बिर खिचाउन र अटोग्राफ लिन विद्यार्थीको भिड लागेको थियो । सो अवसरमा ४० वटा विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । उसुको डेमोस्ट्रेसन, सांस्कृतिक नृत्य समेत उद्‌घाटन समारोहको आकर्षणको रुपमा रहेको थियो ।


समितिका अध्यक्ष दीपक बहादुर गोदारको अध्यक्षतामा भएको उद्‌घाटन समारोहको सञ्चालन समितिका सदस्य सचिव सुरज अधिकारीले गरेका थिए । 
आयोजकका अनुसार पहिलो दिन बिहानैबाट  विभिन्न खेल आयोजना भएका थिए । 


उद्‌घाटन खेलको रुपमा रहेको एथलेटिक्स तर्फको १५ सय मिटरको छात्र दौडमा कालिका माविका सुजन नेपाली प्रथम, बालोदयका  तेन्जोन रोका मगर द्धितीय, पश्चिमाञ्चल माविका रोशन पन्थ तृतीय भए ।  


१५ सय मिटरको छात्रा दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, साधना परियार द्धितीय र गौरी शंकर माविकी कविता मगर तृतीय भएको सदस्य सचिव अधिकारीले जानकारी दिए । बिहीहार बिहानैबाट खेलहरु सुरु हुने आयोजकले जनाएका छन् । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्